वीरगञ्ज ५ मंसिर
पर्सामा फौजी किराले धानको बाला काटेर नोक्सान पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । धान काटेर भित्र्याउन ठिक्क भएको र काटेर राखिएको धानमा समेत फौजी किरा जस्तै किराको प्रकोपले किसानको धानमा नोक्सान गर्न थालेको छ । खेतमा पाकिसकेको धान र किसानले काटेर पाँजा बनाएर राखेको धानमा समेत किराले काटेर नोक्सान पु¥याउन थालेको किसानहरुले गुनासो गरेका छन् ।किसानहरुको व्यापक गुनासो आएपछि कृषि ज्ञान केन्द्र पर्साको प्राविधिक टोलीले स्थलगत निरीक्षण समेत गरेको केन्द्रका प्रमुख कमलदेव कुश्वाहले बताए । प्राविधिकहरुको टोलीले किराले नोक्सा गरेको भेटेको बताउदै प्रमुख कुश्वाहले काटेको धानमा विषादी छरेपनि खासै उपलब्धी भने नहुने बताए ।
धानमा किराको प्रकोप बढेपछि छिटो छिटो धान काटेर भित्र्याउन आधुनिक प्रविधिको मेशिन तथा औजारको प्रयोग गरेर भित्र्याईएको धान धेरै दिनसम्म भण्डारण गर्न नहुने, धान कुहिने समस्या हुने गरेको किसानले बताएका छन् ।
धान काट्नका लागि प्रयोग हुने हार्भेस्टर मेशिन, रिपर तथा थ्रेसर लगायतका आधुनिक मेशिनको प्रयोगका कारण धानबाली कटानी गर्न र दाई गर्न निकै सहज भएपनि किराको प्रकोपले छिटो धान काटेर भित्र्याउँदा भण्डारणमा धेरै दिन राख्न नमिल्ने गरेको र दोहोरो नोक्सानीमा किसान परेको बताउछन् ।
किराको प्रकोपले पूर्ण रुपमा पाक्न नपाउँदै धान काट्नुपर्ने बाध्यता र सुकाउन नपाउँदै हार्भेष्टरबाट धान दाई गर्नुपर्दा किसानले दोहोरो, तेहेरो नोक्सानी बेहोर्नु परेको बताउछन् । यसबर्ष पर्सामा हावाहुरीले पनि धानमा केही नोक्सान गरेको र अहिले किराको प्रकोपले पनि धान उत्पादनमा केही कमी आउन सक्ने सम्भावना बढेको कृषि ज्ञान केन्द्रका प्रमुख कुश्वाहाको भनाई छ ।
प्रतिक्रिया